9801911707, 9801911704, 9801911705
Neel Saraswati Marg, Lazimpat - 02, Kathmandu
facebook twitter youtube facebook facebook
2021.01.04

शिघ्र पहिचान नै मृगौला रोगको निदान

by MARK Kidney Kalanki

मृगौला रोग लागेको लक्षण अन्तिम चरणमा मात्र देखिन्छ । त्यो बेलासम्म ढिलो भइसकेको हुन्छ । चिकित्सक भन्छन्, “रोग लागेर अस्पताल भर्ना भएका बिरामीको त उपचार गरौंला, तर स्वस्थ मानिसको मृगौला वर्षमा एक पटक परीक्षण गराउने संयन्त्र कसरी विकास गर्ने ?” मृगौला रोगको उपचार महगो र झन्झटिलो हुन्छ ।
मृगौला रोगले सताएका मानिसहरू अन्य व्यक्तिजस्तै साधारण देखिन्छन् । विशेषगरी खानपान, व्यायाम र विलासी जीवन जिउने कुरामा सजग रहनुपर्ने चिकित्सकको सुझाव छ । नियमित स्वास्थ्य परीक्षण नगर्दा मृगौला थाहै नपाई बिग्रिरहेको हुनसक्छ । चिकित्सकका अनुसार मृगौला ९० प्रतिशतसम्म खराब भइसक्दा पनि कुनै लक्षण देखिँदैन । ९० प्रतिशत मृगौला खराब भए पहिलेकै अवस्थामा आउन गाह्रो छ । त्यसैले कतिपय मानिसको मृगौला बिग्रिरहेको छ भने पनि कुनै लक्षण नदेखिन सक्छ ।

मृगौला रोग पहिले वृद्धवृद्धाहरूमा बढी देखिए पनि हाल आएर बालबालिका तथा युवामा समेत देखिन थालेको छ । अझ धुमपान, मदिरा सेवन गर्ने ४५ वर्षमाथिका व्यक्तिहरू बढी जोखिममा रहेका छन् । तर, ७५ वर्ष माथिकालाई ५० प्रतिशत अत्यधिक जोखिम हुन्छ ।

रोग लागेर महँगो उपचार गर्नुभन्दा समयमै नियमित परीक्षण गरेर रोग लाग्न नदिनु नै आर्थिक रूपले लाभदायी हुने चिकित्सकले सुझाएका छन् । यो रोगको अन्तिम उपचार विधि भनेको मृगौला प्रत्यारोपण र हेमोडायलाइसिस नै भएकाले आम नेपालीलाई यो प्रविधि महँगो मानिन्छ ।

डायलासिस मृगौला रोगको दिर्घकालिन निदान होइन । वरिष्ठ नेफ्रोरोलोजिष्ट डा. अर्चन शम्शेर राणा मृगौला रोगको लाग्न नदिन वर्षमा एक पटक परीक्षण गराउनु पर्ने सुझाव दिन्छन् ।

को बढी जोखिममा ?
पछिल्ला दिनहरूमा मृगौलाले काम गर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरूमा निष्कृय जीवनशैली बिताउने मानिस धेरै हुने गरेका छन् । त्यसैगरी वैदेशिक रोजगारीका लागि विदेश गएर फर्किएका नेपालीहरूको संख्या धेरै रहेको छ । विशेषगरी खाडीका गर्मी देशमा गएका मानिसमा पनि यो समस्या रहेको छ । त्यस्ता देशमा कडा परिश्रम गर्ने र सोअनुसार पर्याप्त पानी नपिएका कारण धेरै मानिसको मृगौलामा समस्या आउने गरेको चिकित्सकले बताएका छन् । विलासितापूर्ण जीवन जिउने र सुविधाभोगी जीवनशैलीले मोटोपनासँगै मृगौलाको समस्याहरू बढ्दै गएकाले मोटोपन घटाई नियमित व्यायाम गर्न चिकित्सकले सुझाव दिएका छन् ।

कति छन् मृगौला रोगी ?
संसारभर १० प्रतिशत मानिस मृगौलासम्बन्धी समस्याबाट पीडित छन् । यस तथ्यांकको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखि १३ प्रतिशत अर्थात् करिब २७ लाख मानिसमा मृगौलासम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । यसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मृगौला बिग्रने गरेको अनुमान छ । प्रत्येक वर्ष लगभग ३ हजार मानिसको मृगौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

नेपालमा कुल जनसंख्याको करिब १० प्रतिशत व्यक्तिमा कुनै न कुनै किसिमको मृगौला रोग रहेको अनुमान सरोकारवालाको छ । त्यसमध्ये करिव १० हजार जना मृगौला रोगको अन्तिम अवस्थामा पुगेका छन् भने करिब ३ हजार व्यक्ति वार्षिक थपिने गरेका छन् । राष्ट्रिय मृगौला उपचार केन्दबाट सन् १९९७ मा ७ सय २४ डायलाइसिस गराउन बिरामीहरू आएका थिए भने आर्थिक बर्ष २०१९ /२०२० मा त्यो संख्या बढेर हजारौँ पुगेको केन्द्रले जनाएको छ ।

मृगौला रोगका लक्षणहरू

  • शरीर सुन्निने, पिसाब रातो हुने, पिसाब कम हुने वा पिसाब धेरै लाग्ने ।
  • खाना रुची नहुने ।
  • वाकवाकी लाग्ने ।
  • शरीरमा रगत कमी हुने ।
  • शरीरको छाला गाढा कालो भएर जाने ।
  • सास फेर्न गार्हो हुने ।

मृगौला रोगबाट बच्न के गर्ने ?

  • रक्तचाप र मधुमेह नियन्त्रण गर्ने ।
  • सबैले वर्षको एकपटक रगत र पिसाबको परीक्षण गर्ने ।
  • दैनिक २ लिटरभन्दा बढी पानी पिउने ।
  • जथाभावी पेनकिलर नखाने ।
  • नियमित रुपमा शारीरिक व्यायाम गर्ने ।

मधुमेह र उच्च रक्तचाप भएका, धूम्रपानको आदत भएका, ५० वर्ष उमेर नाघिसकेका, मृगौलामा अन्य समस्या भएका व्यक्तिलाई रोगको खतरा बढी हुने भएकोले नियमित रुपमा परीक्षण गर्नु अत्यावश्यक छ । यो रोग लागेको थाहा पाउन केही लक्षणहरूको ख्याल गर्नुपर्छ र निश्चित गर्नको लागि पिसाब र रगतको जाँच गर्नुपर्छ ।
डा. अर्चन शम्शेर राणा
वरिष्ठ नेफ्रोलोजिष्ट

Source: karobardaily